कुकुरको दूध खाएर हुर्किंदै डमरु

Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments


कुकुरको दूध खाएर हुर्किंदै डमरु
सधैं बमबारी, आत्मघाती विस्फोट, नाकाबन्दी आदिको समाचार आउने गरेको प्यालेस्टाइनको गाजापट्टीबाट मन छुने खबर आएको छ । गाजापट्टीमा रहेको एउटा चिडियाखानामा रहेको डमरुलाई त्यहाँकी एउटी कुकुर्नीले आफ्नो दूध खुवाएर हुर्काइरहेको समाचार अहिले प्यालेस्टाइनमा खुब चर्चित छ ।
सो चिडियाखानामा पालिएकी एउटी बघिनीले एकैपटक तीन बच्चालाई जन्म दिई । तर, डमरुहरूलाई हुर्काउनेतर्फ उसले कुनै चासो देखाइन । आमाको दूध र प्रेम नपाएपछि दुई डमरुको तत्काल मृत्यु भयो । आमाले त्यागेको तेस्रो डमरुलाई एउटी कुकुर्नीले जीवनदान दिई । अहिले त्यो डमरु कुकुर्नीको दूध खाएर हुर्किरहेको छ ।
बघिनीले बचेको एउटा डमरुलाई पनि दूध खुवाउन र छेउ पर्न नदिन थालेपछि चिडियाखानाका अधिकारीले डमरुलाई दूध खुवाउन भनेर एउटी सुत्केरी कुकुर्नी भएठाउँमा लगे । हिंस्रक जनावरको बच्चालाई कुकुर्नीले छेउ पर्न नदिने आशंका अधिकारीले गरेका थिए । तर, कुकुर्नीले प्रेमपूर्वक डमरुलाई आफ्नो दूध चुस्न दिएको देख्दा सबै चकित परेका थिए । दूध खान पाएपछि डमरु हृष्टपुष्ट हुँदै गएको छ ।
मानसिक अवस्था बिग्रिएका कारण बघिनीले डमरुलाई छेउ पर्न नदिएको चिडियाखानाका अधिकारी बताउँछन् । ‘त्यसपछि हामीले पशु डाक्टरसँग परामर्श लियौँ, बचेको एउटा डमरुलाई कसरी बचाउने भनेर । डाक्टरले कुकुर र बाघको दूध मिल्दोजुल्दो हुन्छ भने । त्यसपछि हामीले एउटा सुत्केरी कुकुर्नी भएठाउँमा डमरुलाई लग्यौँ । कुकुर्नीको दूध खान पाएर डमरु रातोपिरो हुँदै गएको छ,’ चडियाखानाका व्यवस्थापक इब्राहिम स्बिटाले भने ।

0 comments for "कुकुरको दूध खाएर हुर्किंदै डमरु"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु