भूकम्पले धेरै नोक्सानी गरेको यी तीन सड

Posted by Omn-Nepal on Wednesday, June 10, 2015 | 0 comments


काठमाडौं, -गत वैशाख १२ गतेको भूकम्पले तीनवटा सडकखण्डमा बढी क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड, पासाङ ल्हामु राजमार्गको राम्चे–स्याफ्रुवेँसी सडक खण्ड र गोरखाको भालुस्वाँरा–लाप्राक सडकखण्डमा बढी क्षति भएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।
‘सडक विभागबाट सडकको अध्ययन गर्न गएको टोलीले यी सडकमा बढी क्षति भएको प्रतिवेदन दिएको छ, अरनिको राजमार्गमा ७५ करोड, पासाङ ल्हामु राजमार्गमा ६५ करोड र भालुस्वाँरा लाप्राक सडकखण्डमा सात करोड बराबरको क्षति भएको छ’, उनले भने ।
अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गको क्षति पुनःनिर्माणका लागि चीन सरकारले इच्छा प्रकट गरेकाले कुराकानी भइरहेको मन्त्रालयका सहसचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
देशभरका सडक र पुलमा भूकम्पले दुई अर्बको क्षति भएकामा निर्माण गर्न तीन अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि उनले बताए ।
पुलको विस्तृत अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि अन्तिम लागत निकालिने सडक विभागका महानिर्देशक माधवकुमार कार्की बताए ।
‘तत्काल पुनःनिर्माणमा जान विभागसँग उपकरणको अभाव रहेको छ, विभागका उपकरण भूकम्पको भग्नावशेष हटाउनका लागि नेपाली सेनालाई दिइएको छ’, महानिर्देशक कार्कीले भने ।
मन्त्रालयअन्तर्गतका १५० इन्जिनियर प्रभावित जिल्लाको क्षतिको तथ्याङ्क सङ्कलन गर्न खटाइएको छ ।

0 comments for "भूकम्पले धेरै नोक्सानी गरेको यी तीन सड"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु