बुढीगण्डकी जलविद्युत्् आयोजनाको सर्वेक्षण सुरु

Posted by Omn-Nepal on Thursday, March 28, 2013 | 0 comments


काठमाडौं,/सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत्् आयोजनाको सर्वेक्षणको काम सुरु भएको छ । आयोजनाको सर्वेक्षणको काम यतिबेला धादिङको सलाङ गाविसमा भइरहेको जनाइएको छ । फ्रान्सेली कम्पनी ट्रयाक्टबेल इन्जिनियरिङको सहकार्यमा जेएड कन्सल्टले ढुङ्गा तथा माटो परीक्षणलगायतको काम सुरु गरेको हो । सो कन्सल्टका भूगर्भविद् नारायण गोपाल घिमिरेले दिनुभएको जानकारीअनुसार हाल धादिङको सलाङ गाविस र गोरखाको घ्यालचोक गाविमा माटो, ढुङ्गा परीक्षणको काम भइरहेको छ । सरकारले गत फागुन १५ गते आयोजनालाई विकास समितिमार्फत अगाडि बढाउने उद्देश्यसहित सो आयोजनाको कार्यकारी निर्देशकमा लक्ष्मी देवकोटालाई नियुक्ति गरेको थियो । कुल ६०० मेगावाट क्षमताको सो जलविद्युत्् आयोजनालाई सम्पन्न गर्न सरकारले अरू आयोजना भन्दा फरक ढङ्गले विकास समितिमार्फत अगाडि बढाउन लागेको हो । स्थानीयवासीलाई सक्रियरूपमा सहभागी गराएर निर्माण गरिने लक्ष्य राखिएको सो आयोजना मुलुककै हालसम्मको पानी जमाएर निर्माण हुन लागेको ठूलो आयोजनाको रूपमा लिइएकोछ । नेपालमा प्रायः जसो सबै जलविद्युत्् आयोजनाहरू नदी प्रवाहमा आधारित भएकाले सो आयोजनाबाट उत्पादित बिजुली साँझको समयमा प्रयोग गर्ने लक्ष्य राखिएको छ । सर्वेक्षणको काम प्रारम्भिक रूपमा एक महिना अघिबाट सुरु भए पनि आयोजना स्थलमा सर्वेक्षणको काम यही चैत ९ गतेबाट मात्रै सुरु गरिएको भूगर्भविद् घिमिरेले जानकारी दिनुभयो । सरकारले सो आयोजनालाई ३० महिनाभित्र सर्वेक्षणको काम सम्पन्न गर्ने गरी अख्तियारी प्रदान गरेको छ । आयोजना निर्माण सुरु गर्नु भन्दा पहिले आयोजनाका लागि आवश्यक सबै प्रक्रियाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने गरिन्छ । त्यसमा आयोजनाको विस्तृत स्थलगत अन्वेषण, वातावरणीय प्रभाव मूल्याङ्कन, भौर्गविक सर्वेक्षण, पानीको नापजाँच र ड्रिलिङ गर्ने गरिन्छ । भूगर्भविद् घिमिरेका अनुसार त्यसमा आयोजना निर्माणस्थलको भौर्गविक अध्ययन, माटो, ढुङ्गाको परीक्षण तथा आयोजना सुरक्षाको विषयमा अध्ययन गरिन्छ । सर्वेक्षणको काम सम्पन्न भएपछि स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेपछि निर्माणको काम थालिने सरकारको योजना रहेको छ । आयोजना निर्माणमा झण्डै ७५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आयोजना सञ्चालनमा आएपछि वर्षमा दुई अर्ब ५० करोड युनिट बिजुली उत्पादन हुने नेपाल विद्युुत् प्राधिकरणले जनाएको छ । विद्युत्् विकास विभागले २०३९ सालदेखि २०४१ सम्म बुढीगण्डकी जलविद्युत्् आयोजनाको पहिलोपटक प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछिको करिब २५ वर्ष आयोजनाको कुनै काम भएन । २०६५ सालमा मन्त्रिपरिषद्ले उपयुक्त साझेदारसँग मिलेर नेपाल विद्युत्् प्राधिकरणले निर्माण गर्ने निर्णय गरेपछि सो आयोजनाको काम अघि बढेको हो । नेपाल विद्युत् प्राधिकरण र फ्रान्सको ट्रयाक्टबेल इञ्जिनीयरिङबीच बूढीगण्डकी जलविद्युत आयोजनाबारे परामर्श सेवा किनबेचसम्बन्धी सम्झौतामा केही महिना पहिले सम्झौता भएको थियो । गोरखा र धादिङ जिल्लाको सीमानामा रहेको सो आयोजना नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हो । परामर्शदाताले उक्त अध्ययन कार्य ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो कार्यका लागि कुल ४२ लाख ७ हजार ८०४ यूरोमा सम्झौता गरिएको थियो । ऊर्जासचिव हरिराम कोइरालाले बुढीगण्डकी विकास समितिमार्फत अध्ययनकै अवधिमा आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसमेत गरिने जानकारी दिनुभयो । उहाँले सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर काम अगाडि बढाएका कारण सबै खालको स्रोत र साधन उपलब्ध गराइने र कुनै पनि समस्या उत्पन्न हुन नदिने बताउनुभयो । आयोजनाबाट नेपालको पावर प्रणाली व्यवस्थापन गर्न तथा गैरजलाशययुक्त आयोजनाहरूबाट उत्पादित विद्युत् बजारीकरणमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । सो आयोजनाका कारण धादिङ र गोरखाका ११ वटा गाविस प्रभावित हुने बताइएको छ । धादिङको सलाङ, मैदी, चैनपुरलगायतका गाविसको खेतीयोग्य जमिन डुबानमा पर्ने छ भने गोरखाको घ्यालचोक, नामजुङ, ढावालगायतका गाविसको खेतीयोग्य जमिन पनि डुबानमा पर्ने छ । आफ्नो खेतीयोग्य जमिन डुवानमा पर्ने भएपनि स्थानीय बासिन्दाले आयोजना तत्काल अगाडि बढाउन ऊर्जा मन्त्रालयलाई आग्रह गरेका छन् । सो आयोजनाको लागि करिब २२५ मिटर उचाईको बाँध निर्माण गरिनेछ । रासस

0 comments for "बुढीगण्डकी जलविद्युत्् आयोजनाको सर्वेक्षण सुरु"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु