चितुवाको छाला बेच्न हिडेका ३ जना पक्राउ
Posted by Omn-Nepal on Thursday, December 6, 2012 | 0 comments

धादिङ, मंसिर २१ – धादिङको मलेखुमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् ।
झोलामा चितुवाको छाला बोकेर ग्राहक खोजिरहेको अवस्थामा प्रहरीले धादिङ
महादेवस्थानका २३ बर्षिय सेतुलाल तामाङ, २७ बर्षिय पूर्ण लामा र मकवानपुर
खैराङका सुकलाल तामाङलाई पक्राउ गरेको धादिङका प्रहरी प्रमुख विकासराज
खनालले जानकारी दिनुभयो ।
टाउकोदेखि पुच्छरसम्मको ७ फिट ४ इन्च लामो चितुवाको छालाको मूल्य उनीहरुले
२ लाख रुपैयाँ तोकेका थिए । उनीहरुलाई कारबाहीका लागि जिल्ला वन
कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
गाउँमा पटक पटक वाख्रा खाएर दुःख दिएपछि गाउंलेहरु मिलेर चितुवा मारेको र
छाला विक्री गर्दा पैसा आउने थाहा पाएर बिक्री गर्न बजार आएको पक्राउ
परेकाहरुले बताएका छन् ।