माओवादी कार्यकर्ता हत्याका आरोपीकै हत्या

Posted by Omn-Nepal on Tuesday, December 4, 2012 | 0 comments


धादिङ, मंसिर १९ – एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको हत्याका आरोपी भीषण सिम्खडाको अज्ञात समुहले हत्या गरेको छ । तामाङको हत्या भएको १२ घण्टा नबित्दै एमाओवादीको पार्टी सदस्यका रुपमा दार्खा गाविसमा कार्यरत ३० बर्षिय सिम्खडाको सोमबार हत्या भएको हो ।
दार्खा गाविस ८ निवासी विजय तामाङको गुम्दी गाविस ७ सातदोबाटो नजिकै जंगलमा सोमबार बिहान ८ बजे गोली हानी हत्या गरिएको थियो । तामाङको हत्यामा संलग्न भएको आरोप लागेका सात जना मध्येका एक  भीषण सिम्खडा दार्खाको रातमाटेमा सोमबार राती ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।
मृतक सिंखडाको शव दबै हात बाँधिएको र शरीरमा धारिलो हतियार प्रयोग गरी मारिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हत्या भएका सिम्खडा एकीकृत माओवादीको सदस्य भएको माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीले जानकारी दिनुभयो । सिम्खडाको हत्या कस्ले र किन गर्‍यो भन्ने बारेमा केही खुलेको छैन । तर हत्याका आरोपीकै हत्या भएपछि घटना झन् रहस्यमय भएको प्रहरीले बताएको छ ।
एमाओवादी पनि सिम्खडाको हत्याबारे मौन छ ।
तामाङको अन्त्येष्टि
सोमबार धादिङको गुम्दीमा मारिएका विजय तामाङको मंगलवार धादिङ जिल्ला अस्पतालमा शव परीक्षण गराई धादिङबेसीमा शव यात्रा निकालिएको छ । तामाङलाई एमओवादीका केन्द्रीय महाधिवेशन आयोजक सदस्य पुष्पबिक्रम मल्ल, बेदनिधी अधिकारी र कल्पना धमलाले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।
शव यात्रा पछि बौद्धमार्गी तामाङको मंगलवार नै बौद्ध परम्परा अनुसार सदरमुकामा अन्त्येष्टि गरिएको छ । तामाङका पाँच बर्ष र ३ बर्षका दूई छोरा छन् ।
विजयको शव यात्रामा रहेका माओवादी कार्यकर्ताहरुले नेपाली काँग्रेसको नाम जोडेर तामाङको हत्यामा संलग्न भएको आरोप लगाउंदै नाराबाजी गरेका छन् ।
अनुसन्धान जारीः प्रहरी
दुबै घटना अपाराधिक भएकाले घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । विजय तामाङको हत्यामा संलग्नताको आशंकामा प्रहरीले अशोक तामाङ, किरण सिम्खडा, मानवहादुर गुरुङ, मिलन लामा र अमर लामा लगायतका पाँच  जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै एकीकृत नेकपा माओवादी धादिङले यातायात बन्द समेत गरेको थियो । दोषीको पहिचान गरी तत्काल कानुनी कारवाही नगरे सशक्त आन्दोलन गर्ने एकीकृत नेकपा माओवादीले चेतावनी दिएको छ ।
भीषणको हत्या माओवादीबाटै: काँग्रस
नेपाली काँग्रेस धादिङले दुबै घटनाको घोर भत्र्सना गरेको छ । विजय तामाङ नाम गरेका दार्खाका युवालाई अज्ञात समूहले गोली हानी हत्या गरेको घटनालाई भत्र्सना गर्दै नेपाली काँग्रेस धादिङले घटना गुण्डागर्दीका कारण घटेको बताएको छ ।
काँग्रेसले विजय तामाङको हत्यामा संलग्न भनिएका दार्खा गाविसका भीषण सिंखडालाई माओवादी कार्यकर्ताले कब्जामा लिइ निर्मम यातना पछि विभत्स तरिकाले हत्या गरिएको काँग्रेसले आरोप लगाएको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमासरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादीको निर्देशनमा पछिल्लो हत्या भएकोले दुबै घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाउन आग्रह गरिएको छ ।
सुरक्षा कडा
घटनापछि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा शान्ति सुरक्षा कडा पारिएको छ । जिल्लामा एक पछि अर्को हत्याका घटना हुन थालेपछि मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय धुलीखेलका प्रमुख पशुपती उपाध्याय सोमवार रातीनै धादिङबेसी आईपुगेका छन् । धादिङबेसीमा सशस्त्रका साथै नेपाल प्रहरीको उपस्थिति बाक्लो बनाईएको छ ।
सिम्खडाको शव मंगलवार रातीसम्ममा सदरमुकाम ल्याउने प्रयास भईरहेको आफन्तहरुले बताएका छन् ।

0 comments for "माओवादी कार्यकर्ता हत्याका आरोपीकै हत्या"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु