धादिङ बन्द खुल्यो, भीषणका हत्यारा पक्रन आठ दिन
Posted by Omn-Nepal on Friday, December 7, 2012 | 0 comments
धादिङ, मंसिर २२ – आठ दिनभित्र भीषण सिम्खडाका हत्यारा पक्राउ गर्न स्थानीय प्रशासनले प्रतिवद्धता जनाएपछि सिम्खडा सेवा समितिले आव्हान गरेको अनिश्चितकालिन धादिङ बन्द फिर्ता भएको छ । हत्या भएको पाँच दिन भईसक्दा पनि हत्यामा संलग्नलाई पक्राउ नगरिएको भन्दै समितिले शुक्रवार सदरमुकाम धादिङबेसी अनिश्चिकालिन बन्द गरेको थियो । स्थानीय प्रशासनले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सर्वपक्षिय बैठक राखी भीषणको हत्यामा संलग्न भएकाहरुलाई मंसिर ३० गते भित्रमा पक्राउ गर्न सहमति जनाएपछि आन्दोलन फिर्ता लिएको भीषणका आफन्त रामचन्द्र सिम्खडाले बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी नायव उपरिक्षक विकासराज खनाल,मृत्तकका आफन्त,सिम्खडा सेवा समितिका प्रतिनिधीहरु, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा –माओवादी,नेकपा मालेका साथै नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता थियो । स्थानीय प्रशासनको प्रतिवद्धता पछि भीषणको शव बुझेर हिन्दु संस्कार अनुसार अन्त्येष्टि गर्न भीषणका परिवार सहमत भएका छन् । वाईसिएल दार्खाका कोषाध्यक्ष समेत रहेका दार्खाका भीषण सिम्खडाको मंसिर १८ गते हत्या भएको थियो । मंसिर ३० गते भित्रमा पनि हत्यामा संलग्न भएकाहरु पक्राउ नगरिए थप संघर्षका कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष सिम्खडाले बताएका छन् । एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको मंसिर १८ गते विहान गुम्दीमा हत्या भएपछि विजयको हत्यामा संलग्न भएकाहरुको खोजीमा हिडेको समुहले सोहि दिन भीषणलाई कव्जामा लिएर गएकोमा सोहि दिन राती आठ बजे दार्खा गाविसको वडा नम्बर १ रातमाटेमा प्रहरीले भीषणको शव भेटेको थियो ।
0 comments for "धादिङ बन्द खुल्यो, भीषणका हत्यारा पक्रन आठ दिन"
Leave a reply