ओवामाको निरन्तरता र अमेरिकाको परिवर्तित परिभाषा

Posted by Omn-Nepal on Monday, November 12, 2012 | 0 comments


भारती गौतम/बोष्टन
“अरु कसैले अरु कुनै समयमा आएर गरिदिन्छ भनेर पर्खियौं भने परिवर्तन कहिल्यै आउँदैन। हामीले पर्खिएको त्यो कुनै मान्छे भनेको हामी नै हौं, हामीले खोजेको परिवर्तन हामी आफै हो।“-वराक ओवामा
समुद्री आँधी स्यान्डीले एकहप्ता अगाडी अस्तव्यस्त हुनुअघि नै अमेरिकी आकासमा चारवर्षे राष्ट्रपतिय चुनावको आँधी स्यान्डी भन्दा वढी प्रभावकारी भएर मडारिएको सवैले अनुभव गरेको हो। रिपव्लिकन की डेमोक्र्याट, श्वेत कि अश्वेत, अमिर कि मध्यम, संकीर्ण कि उदार, मुठ्ठीभरको लागि कि आम जनताको लागि जस्ता दुविधाले अमेरिकालाई मात्र वांडेको थिएन । अमेरिकाको यो दुविधा केन्याको न्यान्ज्या प्रान्त र ईन्डोनेसियाको वालीमा मात्र चर्चित थिएन, यो दुविधा प्रायजसो विश्वका सवै कुनाले अनुभव गरेको थियो । यसको सवैभन्दा वलियो आधार त सामाजिक संजालमार्फत विश्वको सवै कुनावाट व्यक्तिएका अभिव्यक्ति पनि हुन्। आफूहरु जस्तो या मालिक मानिएको जस्तो व्यक्तित्वले विश्वको शक्तिशाली राष्ट्र नेतृत्व गर्ने हो को चासो विद्दुतिय गति संगै विश्वभरी छरिएको पनि नकार्न सकिदैन।
विश्वव्यापी आर्थिक मन्दीको उतारचढाव, परिवर्तित ग्लोबल मान्यताहरु, तकनिकि चमत्कारले धमिलिदै गएका भौगोलिक सिमारेखा भित्र क्रमश: सांघुरिदै गएको विश्वमा संसारको एउटा कुनामा आएको वैचारिक र राजनीतिक भूईचालोको कम्पन सवैले अनुभव गर्ने तथ्य सवैले स्वीकार गरेकै छौं। पूर्वमा पानी पर्यो भने पश्चिममा छाता ओढ्ने, भनाई हाँस्यास्पद नभएर अहिले कसोकसो वास्तविक जस्तोसमेत देखिन्छ।
“स्टाटस क्वो” अर्थात यथावत स्थिति, अव एकादेशको कथा जस्तो लाग्न थालेको उदाहरण खोज्न आफैलाई, आफ्नो मुलुकलाई, मुलुकको मान्यतालाई, मुलुकको जागरुकतालाई नै हेर्दा भेट्न सकिन्छ। दश वर्ष अगाडीसम्म कल्पना पनि गर्न नसकिने परिवर्तनले विश्वका सवै कुनालाई त्यतिकै प्रभावित गरेको छ। यसको सवैभन्दा विस्तारित प्रमाण त दुई वर्षभित्र भएको मध्यपूर्विय प्रजातान्त्रिक आन्दोलनहरुलाई सवैभन्दा शक्तिशाली मान्न सकिन्छ। त्यस्ता उदाहरण त्यत्तिकै राजनीतिक पराकाष्टाका उथलपुथल ल्याउने आन्दोलनहरु नभए पनि साम्प्रदायिक, जातिय, प्रान्तिय तहका चेतनामुलक उथलपुथल वर्तमानको वास्तविकता हुन पुगेको छ। यसप्रकारका चेतना र आन्दोलनहरु सवै नै सकारात्मक परिणाममा टुंगिन्छन् भन्ने नभएतापनि यसप्रकारको परिवर्तनको वाढिलाई वांध वाध्न सक्ने संभावना भने सकिईसकेको छ।
काला जति सवै कृष्णजीका साला भने जस्तै धनकुटामा पुगेका सवै गोरालाई अमेरिकन ठान्ने वालककालको मेरो मात्र हैन अरु थुप्रैका अनुमानको विपरित धनकुटामा पुगेका सवै सेता अमेरिकन नभए जस्तै अमेरिकामा नै रहने अमेरिकनहरु छालाको, आंखाको र कपालको रंग विस्तारै वद्लिदै गएको तथ्य पनि दिनप्रतिदिन अरु विश्वासनिय हुंदै गएको छ। गोरा, गहुँगोरा, केहि काला, धेरैकाला अमेरिकी अनुहारको रंग भएको छ भने निला, हरिया, खैरा, केहि काला र निकै काला अमेरिकन आंखा भईसकेको छ। अंग्रेजी भाषा मात्र नभएर चिनिया, हिन्दि, स्पेनिस, नेपाली सवै भाषा अमेरिकन भाषा हुन थालेको छ।
चारवर्ष अगाडी अप्रत्याशितरुपले वद्लिएको अमेरिकी ईतिहासमा यसै साताको निर्वाचन परिणामले अर्को अध्याय थपेको छ। अमेरिकी ईतिहासका पानाहरु माझ देखिने राष्ट्रपतिय अनुहारको रंग फेरिएको चार वर्षपछि फेरि त्यो रंग गाढा रहेको तथ्यले अमेरिकी परिभाषाको रंग वद्लिएको संकेत गरेको अरु पुष्टी मिलेको छ। विश्वका सवै भौगोलिक परिवेशका सवै धर्म र सस्कृति, मान्यता र संस्कारको पृष्ठभूमी वोकेका व्यक्तिहरुले समेत आफ्नो घर ठान्ने गरेको अमेरिकाका टाउके पदहरु मात्र हैन अमेरिका को प्रतिनिधित्व हुने सवै क्षेत्रमा देख्ने वानीपरेको रंग र व्यक्तित्व विस्तारै वद्लिदै गएको छ।
केन्याको न्यान्जा प्रान्तका वराक ओबामा सिनियर र क्नानससमा जन्मिएकी एन डुन्हामको कोखवाट हवाईमा जन्मिएका वराक ओवामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि वद्लिएको अमेरिकाको अनुहार सधैंको लागि वद्लिएको पुष्टी स्वरुप दोस्रो निर्वाचनमा मोर्मन धर्मावलम्बी अरवपति, स्वेत, अनि कतिपय कुरामा केहि कट्टर विचार राख्ने प्रतिद्वन्दीलाई उछिनेर फेरि वराक ओबामा निर्वाचित हुनु भनेको परिवर्तनको सवै भन्दा ठूलो उदाहरण हो।
हुन पनि हो, केन्याका वावु, अमेरिकी आमाको संयोग मात्र वराक ओबामा राष्ट्रपति हुनुका लागि अनौठो संयोग थिएन । दुईवर्षको उमेरमा पारपाचुके लिएका वावु आमा, केहि समयपछि आमाले अर्को विहे गरेका ईन्डोनेसियन सौतेनी वावु संगको झन्डै छ वर्ष जाकार्तामा विताएका अनौठा क्षणहरुले मात्र ओवामालाई सामान्य मान्छेको प्रतिनिधि वनाएको छैन । स्वेत हजुरवुवा हजुरआमासंग दस वर्षको उमेरदेखि विताएका समयमा सम्पन्न र स्वेत विद्यार्थीहरुको प्रभुत्व भएको प्राईभेट विद्यालयका तीनजना अफ्रिकि मुलका विद्यार्थीमध्येको एक भएर विताएका वर्षहरुले ओबामालाई अमेरिकाका थुप्रै विद्यालयमा स्वेतहरुमाझ आफूलाई अनौठो अनुभव गर्ने थुप्रै केटाकेटीको प्रतिनिधि पनि वनाएको छ। छालाको, कपालको र आंखाको रंग फरक भएको आधारमा आफ्नै घरको चुलामा बाहिरिया हुनु परेको अनुभव गर्ने आप्रवासिका छोराछोरीले भोग्नु परेका पिडा वुझ्ने राष्ट्रपति हुनु भनेको अस्वेत अमेरिकीहरुको लागि वरदान जस्तै हो।
सिकागोका शहरी गल्ली गल्लीका अस्वेत, गरीव, अशिक्षित, पारिवारिकरुपले टुटेको युवा समुदायलाई सहि वाटो देखाउने प्रयासमा वर्षौं विताएका ओबामा ले मुलुकको निती वनाउने प्रस्ताव गर्ने वेलामा त्यस्तै परिस्थिति झेल्नु परेको एउटा ठूलो समुहलाई पक्कै विर्सिदैनन् भन्ने विश्वास पनि शायद उनकालागि मत वनेर खसेका हुनु पर्छ।
 “आम जनताको संरक्षण र साझा हितको सम्वर्धन गर्नु पर्ने आधारभूत कर्तव्यको लागि जनताले सरकारमाथि भरोसा गर्न सकेनन् भने सरकार र जनता विच को सम्वन्ध केहि वांकी रहंदैन’ -राष्ट्रपति ओबामा 
आफूलाई प्रतिनिधित्व गर्न आफूजस्तै या आफ्नु दुःख वुझेको हुनु पर्ने सामान्य मान्यताअनुसार अमेरिकाले पनि आफू स्वेत, क्रिस्चियन, अमिर र समृद्द अमेरिकाले आफूजस्तैलाई आफ्नु प्रतिनिधि छान्ने परम्परा वद्लिनु भनेको अमेरिका वद्लीएको मान्न सकिन्छ। अमेरिकाको प्रतिनिधित्व भनेको अमेरिकीको प्रतिनिधित्व हो र अमेरिकाको रुप,रंग र मान्यता वद्लिनु भनेको प्रतिनिधित्वको रुप रंग र मान्यता वद्लिनु जस्तै देखिएको छ।
प्रजातान्त्रिक अमेरिका अहिले आएर सवैभन्दा वढि र वास्तवमा प्रजातान्त्रिक भएको थाहा पाउन भर्खरैको मतदानको प्रकृति हेरे हुन्छ। युवा, महिला मात्र हैन अल्पसंख्यक मानिएका सवै मुलका मतदाताहरुले मतदिनपाउने आफ्नो अधिकार सकेसम्म प्रयोग गरेर आफ्नो आवाजलाई वाशिंङटन सम्म पुर्याउन सफल देखिन्छ। महिला, अस्वेतमुलका व्यक्तिहरु, समलिंगी सवै प्रकारका व्यक्तिहरु सरकारमा पुग्नुले पनि परिवर्तनको संकेत दिन थालेको छ। हवाईले जापानी मुलकी प्रथम एशियन अमेरिकन महिला माजी हिरोनोलाई सिनेटको लागि चुनेको मात्र हैन तुल्सी ग्याव्वर्ड नामक हिन्दु धर्मावलम्वी महिलालाई समेत प्रतिनिधिसभामा छानेको छ। जनवरीमा पदको सपथ ग्रहण गर्दा तुल्सी ग्याव्वर्डले भागवद् गीता छोएर सपथ गर्ने समेत सुनिएको छ।
कुनैपनि लागूपदार्थ अवैध ठानिने मुलुकमा हालैको निर्वाचनको वेला गांजालाई कतै औषधिको रुपमा कतै प्रयोग गर्न पाईने वनाईएको छ भने कुनै राज्यमा गांजालाई चुरोट, वियर जस्तै मनोरंजनात्मक रुपमा प्रयोग गर्न सकिनेगरी समेत कानुनी मान्यता दिईएको छ।
ओवामाले दोस्रो पटक पनि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजय प्राप्तगर्नु भनेको परिवर्तननै वर्तमानको माग हुनु हो। परिवर्तनको लागि एकपटक अघि वढेको समय पछाडि फर्किन नसक्ने पनि यसवाट अर्थ लगाउन सकिन्छ। “स्टाटस क्वो “अर्थात यथावत परिस्थिति अव कतैपनि प्रभावकारी हुन नसक्ने कुराको पुस्टी पनि हो यो। अमेरिकी परिस्थितिमा पनि परिवर्तन अहिलेको माग भएको सवैभन्दा ठूलो उदाहरण यसै निर्वाचन लाई मान्न सकिन्छ।
विश्वका सवै कुनाका मान्छेहरु आप्रवासीको रुपमा भित्रिने क्रममा भईराखेको तिव्रता र पुस्तौंदेखि यहाँ रहिरहेका अफ्रिकी अनि दक्षिण अमेरिकी मुलुकको मुलका व्यक्तिहरुको संख्यात्मक वृद्धिको साथै अन्तर्राष्ट्रिय चेतनाको लहरको कारण पनि आगामी दश वर्षभित्र अमेरिकाको अनुहारको रंग अझ वढी फरक देखिन सक्ने निश्चित छ। यो फेरिएको अमेरिकी अनुहार जति चाँडो स्वीकार गर्यो त्यति नै सवैलाई सजिलो हुनेछ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति वराक ओवामालाई हार्दिक वधाई।

0 comments for "ओवामाको निरन्तरता र अमेरिकाको परिवर्तित परिभाषा"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु