कर्मचारी नहुदां सहकारी अनुगमन प्रभावित

Posted by Omn-Nepal on Thursday, November 22, 2012 | 0 comments



धादिङबेसी/धादिङमा पछिल्लो समयमा सहकारी संस्था खुल्नेक्रम बढ्दै गएपनि सहकारी संस्थाहरुको नियमन गर्ने निकायमा आवश्यक जनशक्ती नहुंदा सहकारी संस्थाहरुको अनुगमन प्रभावित हुन पुगेको छ ।
    जिल्लाका  पचासवटै  गांउ विकास समितिमा विभिन्न उद्देश्य राखी तीन सय १५ वटा  प्रारम्भिक सहकारी संस्था दर्ता भएको भएपनि  ति सहकारी संस्थाहरुको गतिविधी अनुगमन गर्ने डिभिजन सहकारी कार्यालयमा भने बर्षौ देखि जनशक्तीको अभाव रहेको छ ।  कार्यालयमा जनशक्तीको अभाव भएका कारण गाउँ गाउँमा खुलेका सहकारी संस्थामा डिभिजन सहकारी कार्यालयले कर्मचारी खटाउन नसक्दा सहकारी संस्थाहरुले कार्यालयले मागे अनुसारका विवरण कार्यालयमा नआईपुग्ने गरेको डिभिजन सहकारी प्रमुख रुद्रप्रसाद पौडेल बताउनुहुन्छ ।
    कार्यालयमा दरवन्दी अनुसार कर्मचारी नहुदां अहिले सम्म जिल्ला भरिका सहकारीसंस्थाहरुको  अनुगमन गर्न नसकेको पौडेलले बताउनुभयो । सहकारी मापदण्ड अनुसार लगातार दुई वर्ष संस्थाले सञ्चालन गरेको कारोवारको विवरण तोकिएको ढांचामा डिभिजन कार्यालयमा नबुझाएका सहकारी संस्थाको दर्ता खारेजीको लागि प्रक्रिया अघि बढाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । कार्यालयमा तोकिएको दरवन्दी अनुसार कर्मचारी नहुदां सुपथ मुल्य पसल सञ्चालन गर्न ५२ वटा  सहकारी संस्थालाई प्रति संस्था एक लाखका दरले दिएको अनुदानको सदुपयोग भए नभएको वारेमा कार्यालय स्वयं वेखवर रहेको सहायक सहकारी निरिक्षक महेश्वर ढकालले बताउनुभयो । 
    तीन सय भन्दा बढी प्रारम्भिक सहकारी संस्था रहेको जिल्लाको सहकारी कार्यालयमा सहयोगी कर्मचारी ३ जना मात्र रहेकाले कार्यालयमौ हुने सहकारी संस्था दर्ता प्रकृयामा  समेत ढिलाई  हुने गरेको कर्मचारीहरु स्वयं वताउंछन । धादिङ जिल्लामा कृषि, दुग्ध, बहुउद्देश्यय, साना किसान, फलफुल तरकारी र ऋण तथा वचत सहकारी संस्थाहरुको स्थापना भई धेरैजसो सञ्चालनमा समेत रहेका छन ।  यसै गरी उपभोक्ता, विद्युत, चिया कफी, जडिवुटी, यातायात, स्वास्थ्य, विद्यालय, सञ्चार र सामाजिक उद्यमी सहकारी संस्थाहरु पनि जिल्लामा स्थापना भई सञ्चालनमा आएका छन् । प्रारम्भिक सहकारी संस्थाहरुको प्रभावकारी अनुगमन तथा निरिक्षण नहुदा सर्वसाधरणको शेयर, निक्षेप रकम र सरकारी तथा गैरसरकारी संस्थाहरुबाट प्राप्त गरेको अनुदान रकम समेत हिनामिना हुदै आएको र हुने सम्भावना पनि उत्तिकै रहेकोले सहकारी संस्थाको प्रभावकारी अनुगमन हुनु पर्ने जिल्ला सहकारी संघका सचिव गंगादत्त तिमिल्सिनाको भनाई छ ।

0 comments for "कर्मचारी नहुदां सहकारी अनुगमन प्रभावित"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु