घोचपेच डट कम ( असहमती र झापड प्रथा )

Posted by Omn-Nepal on Wednesday, November 21, 2012 | 0 comments


दीपेन्द्र रिजाल 
                                      
दुइ वा दुइभन्दा बढी मत मिल्नु वा मिलाउनु नै आखिर सहमती हो । द्वन्द्व, कलह, विग्रह, वैमनश्यतायुक्त जर्जर परिभेषमा यो शब्द जती कर्णप्रीय र सान्दर्भीक छ त्यस्तै शब्द सायद नेपाली शब्दकोषमा खोज गर्दा पाइन्छ र जहाँ, जसले, जसरी प्रयोग गरेपनि अघाइन्न । यमराजको तारिख लागेका, उमेरले पाकेका, जोशले थाकेका, माथीबाट डाकेका हजुरबा जनशक्तिले उखान हाल्थेः ‘बाँदरको हातमा नरीवल’ साच्चै वर्तमान परिभेषलाई आँकलन गर्ने हो भने उक्त उखान समसामयिक देखिन पुग्छ । हुन त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सहकार्य, सद्भावना हालका ज्वलन्त शब्दहरु देख्दामा, सुन्दामा जति राम्रा र कर्णप्रीय लाग्छन् तर प्रयोगकर्ताको लापरवाहिको कारणले यी नै शब्दहरु प्रति वितृष्णा जाग्न र जनतालाई वाक्क लाग्न थालिसक्यो ।
    नेतापिच्छे पाट्री, पाट्रीपिच्छे गुट, उपगुट, विना योगदान र वलिदान नेता, विना नेता नेतृत्व अघि बढ्ने यो देशमा शाब्दिक खेती बनेको छ सहमती । विश्वेश्वर प्रसाद कोइरालाको मेलमिलाप नीति, जिपी कोइरालाको सहमती, सहकार्यरुपी राजनीतिको विजारोपरण  वर्तमान परिपेक्ष्यमा झल्लो नेता र नेतृत्वले खल्लो वनाइदिएको छ त्यसैले यो देशको भद्रगोल शैलीको कारक तत्व सहमती नै हो भन्नेमा आपती ठाने मैले के गरु ? विपती, असहमती बीचको सहमती, द्वन्द्वबीचको समाधान जस्तो देखिने  यी नाङ्गा आँखाहरु र कटमेरो खोपडीहरुका दिन गएछन् क्यार ! किनकि आजभोलि सहमती शब्द नै भ्रष्ट नेता र पथभ्रष्ट जनताजनार्दनलाई कमाइ खाने भाँडो भा’को छ
    सहमतीकै नाम लिएर ४ वर्षे संविधान निर्माणकालीन जर्जरता जनताले भोगेकै हुन् । सुण्ड, मुण्ड, झुण्ड, खण्ड, अखण्ड, दण्ड अनि आपती, विपती, नियमापती, अधोगती, सम्पती, सहमती र वापती शब्दहरुको चोटले आक्रान्त यो देशमा सास छउन्जेल आसको आसे, नासे, पासे खेतीमा चित्त बुझाइरहेछन् जनता । सहमती शब्दकै चलखेलले कूकार्यमा पनि मेल, देशको ब्रेक फेल, हिउँदे राजनीतिमा पनि गड्गडाउँदो भेल देखिदैछ । वाउन्न घुस्सा त्रिपन्न ठक्कर खानेले पनि भन्छन् सहमती, २ नम्बरी धन्दाले विसौँ पटक जेल जानेहरु पनि भन्छन् सहमती, काटमार हिँसा गर्नेहरुका मुखमा पनि सहमती, देशको ढुकुटीले खल्ती भर्नेहरुको मुखमा पनि सहमती, जनतामा भय र आतङ्क छर्नेहरुको मुृखमा पनि सहमती, उम्रेदेखि घुम्रेसम्म, झुपडीकान्तदेखि खोपडीकान्तसम्म, मूर्खदेखि मुखियासम्म, विलासितामा लाग्ने देखि दुःखीयासम्म सबैलाई मिलेको छ प्रयोग गर्न सहमती ।
    प्रशासनले चोर पक्रन्छ, जेल नपुग्दै सहमती, आयल निगममा भ्रष्टाचार चल्छ पेट्रोल पम्पमा तेल नपुग्दै सहमती । ठाउँठाउँमा विकासका आयोजना खुल्छ ठेकेदार र गुण्डाबीच सहमती, गाउँ गाउँमा बाटो खन्न हल्ला पुग्छ तीनदलका तीन टाउँकाबीच लेनदेनमा सहमती, वैदेशिक रोजगारीहरु दिनानुदिन ठगिन्छन् कर्मचारी र मेन पावरबीच सहमती, बजारभाउको महङ्गीले सीमा नाघ्छ अनुगमनकारी र व्यापारीबीच सहमती, जेलबाट अभियुक्त भाग्छ त्यहाँ पनि सहमती, श्रीमान्ले गर्लफ्रेन्ड र श्रीमतीले व्वाइफ्रेन्ड राख्न पाउने श्रीमान् – श्रीमतीबीच सहमती आखिर समस्या भोग्ने त सन्तान न हुन् देश यस्तै सहमतीले अगाडि बढ्छ सास्ती भोग्ने जनता न हुन् ! ठाउँठाउँमा सहमती, गाउँ गाउँमा सहमती, ठूला ठूलाका नाउँ नाउँमा सहमती त्यसैले पो देशको हुँदो रहेछ अधोगती
        हुँदा हुँदा सीमा नाघेर सहमतीमा आपती भोग्नुपरे पछि जनतामा वाध्यता पलाएर आउँदो रहेछ क्यार ! शंकै लाग्छ आजभोलि मौलाउँदै गएको देवीप्रसाद – झलनाथ, सुवेश वस्नेत – शुशिल कोइराला र पदम कुँवर – प्रचण्ड झापड काण्ड पनि सहमतीकै अर्कै रुप त होइन । विरोध गरेर पनि पुगेन, पिण्डतर्पण छरेर पनि पुगेन, संझाएर पनि भएन, बुझाएर पनि काम भएन अनि जनताले झापडै नदिए के दिउन् त । घोच्दा, चिमोट्दा, चिथोर्दा, कोट्याउँदा, घच्घच्याउँदा, कन्याउँदा, कोतार्दा समेत आत्था समेत नगर्ने टाउकेका गालामा चड्किएको चड्कनले तै पनि वेहोसी भै होस गुमाउन पुगेका नेताहरुलाई ठीक ठाउँमा ल्याउन सहयोग पुग्थ्यो कि ? नेता – नेताबीच, पक्ष – विपक्षबीच, पुलिस – चोरबीच, दुइनम्बरी – कर्मचारीबीच, रीति – वेथितीबीच त सहमती चलेकै हो तर यसपटकको झापड संस्कृतिले विकृतीको रुप होइन नेताा र जनताबीच सहमती हुने वातावरण पैदा हुन सकोस् । यो देशमा हुने लोडसेडिङमा हुने सहमती, महङ्गीमा सहमती, दुर्घटनाम सहमति, कूसमाचारमा सहमती, भ्रष्टचारमा सहमती, गुण्डाराजमा सहमती, चोरी चाकडीमा सहमती रोकिन कूूकार्य, कूदृष्टि, कूविचारमा हुने सहमती रोकिन सकोस् यो प्रथाले देशको अस्तित्व लुट्नेमा नेताहरु सहमतीमा नपुगून् गालासम्म पुगेको झापड संस्कृति फष्टाएर, झाङ्गिएर चिर्पट बनेर टाउकामा बज्रिन नपुगोस् अस्तु ! 
(२०६९ मंसिर ७ गते बिहिबार प्रकाशित )

0 comments for " घोचपेच डट कम ( असहमती र झापड प्रथा )"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु