कहां पुग्यो धादिङबेसीका सबै मोटर बसपार्कवाट छुटाउने निर्णय ?
Posted by Omn-Nepal on Wednesday, November 21, 2012 | 0 comments
गएको असोज १५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सर्वपक्षिय बैठकले धादिङ जिल्ला सदरमुकाम धादिङवेशींबाट अन्यत्र जिल्लाहरुमा जाने तथा अन्यत्र जिल्लाहरुबाट जिल्लामा भित्रिने एवं जिल्ला भित्रैका ग्रामीण क्षेत्रमा चल्ने सवारीका साधनहरुलाई नियमन गरी यात्रीहरुको यात्रा तथा मालसामानहरुको ओसार पसारलाई व्यवस्थित गरिने निर्णय गरेको थियो । जिल्लाका प्रशासक, प्रहरी प्रमुख र सरोकारवाला यातायात व्यवसायीहरुको संयुक्त बैठकले गरेको यो निर्णय कार्यान्वयन हुनेमा धेरै जना आशावादी देखिएका थिए ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा विभिन्न यातायात व्यवसायी प्रतिनिधिहरु र सरोकारवालाको उपस्थितिमा असोज १५ गते सम्पन्न वैठकले यस्तो निर्णय गरे पछि जिल्ला सदरमुकाम धादिङवेशीमा रहेको वसपार्कमा यात्रु प्रतिक्षालय तथा शौचालयको व्यवस्था तथा सो को नियमित सरसफाई को व्यवस्था गर्ने, बाहिरबाट आउने सवारी साधनहरुलाई वसपार्कमा प्रवेश गरे पछि मात्र वजार क्षेत्रमा प्रवेश हुने व्यवस्था मिलाउने सहमति समेत गरिएको थियो । साथै सोहि बैठकलले जिल्लाका सबै यातायात समितिहरुका टिकट काउण्टरहरु असोज १५ गतेको पांच दिन भित्रमा वसपार्कमा स्थानान्तरण गरी वसपार्कलाई सुचारु गर्ने निर्णय समेत गरिएको भएपनि यो निर्णय अहिले सम्म कार्यान्वयनमा भने आउन सकेको छैन । सोहि बैठकले यसै गरी रातो प्लेटका निजी सवारी साधनहरुबाट यात्रुहरु चढाउने कार्य वन्द गर्ने, सार्वजनिक सवारीका साधनहरुमा आ–आफ्ना रुटहरुमा पर्ने निश्चित स्थानहरुको छुट्टा छुट्टै भाडादर काउण्टर तथा सवारी साधनहरुमा समेत सवैले देख्न सक्ने गरी राख्न लगाउने, वडादशैं तथा शुभदीपावली लगायतका चाडपर्वमा यात्रुहरुको चाप बढ्ने र सवारी साधनका छतमा समेत यात्रुहरु चढ्न सक्ने हुंदा उक्त कार्य हुन नदिन सम्वन्धित सवै पक्षले प्रहरी प्रशासनलाई सहयोग गर्ने निर्णय गरिएको थियो । यो निर्णयलाई धेरैले सकारात्मक कार्यको थालनी भनेर प्रशंसा पनि गरेका थिए । विगतका दिनमा जस्तै असोज १५को निर्णय पनि ओझेलमा पर्नुले जिल्लाका प्रशासक तथा प्रहरी प्रमुख तत्काल चर्चामा आउन मात्रै निर्णय गर्दछन भन्ने सर्वसाधारणको गुनासोलाई पुष्टि गरेको छ । असोज १५ गतेको सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन कुन चरणमा पुगेको छ सरोकारवालाहरुले अव आम नागरिकलाई जवाफ दिनु पर्दछ ।
(२०६९ मंसिर ७ गते बिहिबार प्रकाशित )
0 comments for "कहां पुग्यो धादिङबेसीका सबै मोटर बसपार्कवाट छुटाउने निर्णय ?"
Leave a reply