विधायक पक्राउको विरोधमा जोगवनी नाका ठप्प

Posted by Omn-Nepal on Saturday, November 10, 2012 | 0 comments


jogbaniविराटनगर, कार्तिक २५ - उद्योगी तुलसीराम अग्रवालको अपहरणमा संलग्न भई फरार भारतीय विधायक जाकिर मियाँ र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिका नाइके भोलाशंकर तिवारीलाई नेपाल प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार जोगवनी नाका ठप्प छ ।
मियाँ अररियाको लोक जनशक्ति पार्टीका वहालवाला विधायक हुन् । पक्राउको विरोधमा उनका समर्थकले जोगवनी नाकामा प्रर्दशन गरेपछि आयात निर्यात र सर्वसाधारणको आउ जाउ दिनभर ठप्प रहयो ।
विधायक मियाँ र तिवारीलाई शनिवार साँझ झापा प्रहरीले काँकरभिट्टास्थित एक होटलवाट पक्राउ गरेर मोरङ प्रहरीलाई बुझाएको मोरङ प्रहरी प्रमुख एसपी निरजवहादुर शाहीले बताए । उनीहरुलाई इलाका प्रहरी पथरीको हिरासतमा राखिएको छ । उनले भने, 'आइतबार सोझै अदालत लगिने छ ।' शाहीले भने उनीहरु अदालतका फरार अभियुक्त हुन् । उनीहरुलाई अदालतले जिउ मास्ने बेच्ने मुद्धामा कारवाही अगाडि बढाउने छ । 
उद्योगी अग्रवाल २०५८ साल माघ १३ गते प्रात: भ्रमणको समयमा भारत सहर्षाका पप्पुदेव भुमिहारको नेतृत्वमा विराटनगरको साल्टट्रेडिङ अगाडिबाट अपहरणमा परेका थिए । उनी ४१ दिन पछि ३ करोड २० लाख भारु फिरौती तिरेर अपहरण मुक्त भएका थिए ।
अपहरणको सातवर्षपछि पप्पुदेव भुमीहार पक्राउ परेका थिए । अपहरीत अग्रवालको किटानी जाहेरीका आधारमा भुमीहारलाई जिल्ला अदालत मोरङले २०६५ पुस ६ गते जिउ मास्ने वेच्ने मुद्धामा १० वर्ष जेल चलान गरेको थियो । त्यसैगरी अपहरणमा संलग्न भएका विराटनगरका उमेश गिरीलाई त्यसैवेला जिल्ला अदालतले २० हजार धरौटीमा छाडेर पछि सफाई दिएको थियो ।
उद्योगी अग्रवाल अपहरणमा नौ भारतीय र एक नेपाली सहित १० जनाको संलग्नता रहेको पुष्टि भएको थियो । त्यसमध्ये मुख्य नाइके पप्पुदेव कारागारमा छन् । गिरीले अदालतवाट सफाई पाइसकेका छन् । मियाँ र तिवारी पक्राउ परेपछि बाँकी ६ जना अझै फरार छन् ।
अपहरणका मुख्य नाइके पप्पुदेवविरुद्ध लागू औषध ओसार पसार, नक्कली नागरिकता, नक्कली राहादानी, हत्या अपहरण, लुटपाट लगायतका दर्जन वढी मुद्दा भारतमा पनि छ ।

0 comments for "विधायक पक्राउको विरोधमा जोगवनी नाका ठप्प"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु