जोगिमाराको माङराङमा विजुली - गाउंवासीमा खुसीयाली

Posted by Omn-Nepal on Tuesday, January 22, 2013 | 0 comments


केशव अधिकारी धादिङ,९ माघ , धादिङको जोगिमारा गाउ विकास समिति वडा नम्वर ५ माङराङमा निर्माण सम्पन्न भएको माउती खोला लघु जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ । गाउं नजिकैवाट वगिरेहको माउतीखोलामा बांध वाधेर निकालिएको विजुलीले गाउं झिलिमिली भएपछि यहांका गाउंवासी निकै उत्साहित भएका छन । निर्माण सम्पन्न भएको आयोजनाको सोमबार एक समारोहका विच उद्घाटन गरिएको छ । राजनैतिक दलका नेताहरुले मात्र आयोजनाको उदघाटन गर्ने स्थानीयवासी रमिते भएर बस्ने परम्परालाई तोड्दै स्थानीय ८२ वर्षिय खोडे चेपाङले विजुलीकोे स्विच अन गरेर आयोजनाको उद्घाटन गरेका थिए । आयोजनाको निर्माण कार्य सम्पन्न भई गाउंमा विजुली वलेको खुसीयालीमा माङराङका स्थानीयवासीले सोमवार नाचगानका साथ खुसीयाली मनाएका थिए । पृथ्वीराजमार्गको हुग्दीखोलावाट ३ घण्टाको उकालो यात्रा पार गरेपछि पुग्न सकिने माङराङ गाउंमा चेपाङ, मगर र दलित समुदायको वसोवास रहेको छ । आयोजना निर्माणको लागि १५ लाख ८४ हजार ५ सय खर्च लागेको कार्यक्रममा बताइएको थियो । आयोजना निर्माणका लागि जिल्ला विकास समिति धादिङको २ लाख ५० हजार, गाविसको १ लाख १३ हजार ५ सय, सहयोगी हातहरुको समुह साहस नेपालको २ लाख, रिम्स नेपालको ५० हजार, चितवन काउले गाविसको २० हजार, एकीकृत नेकपा माओवादी जोगिमाराको २१ हजार, स्थानीय मिलीजुली सामुदायिक विकास समूहको ३० हजार, र स्थानीय उपभोक्ताहरुको ९ लाख बराबरको श्रमदान खर्च भएको लघु जलविद्युत आयोजना निर्माण समितिले जनाएको छ । २०६८ साल चैत महिनाबाट सुरु भएको आयोजनाको निर्माण कार्य गत पुस २ गते सम्पन्न गरेको हो । २.५ किलोवाट विद्युत उत्पादन क्षमता रहेको लघु जलविद्युत आयोजनाबाट गाउका स्थानीय ४० घरधुरी लाभान्वित भएका छन् । आयोजना उद्घाटन कार्यक्रममा पूर्व सभाषद् शालिकराम जमकट्टेल, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, सहास नेपालका कार्यकारी निर्देशक सुरेन्द्रकुमार श्रेष्ठ लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

0 comments for "जोगिमाराको माङराङमा विजुली - गाउंवासीमा खुसीयाली"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु