त्रिसुलीमा बस खस्दा मर्नेको संख्या ४ पुग्यो
Posted by Omn-Nepal on Friday, January 18, 2013 | 0 comments
रामेश्वर कार्की, धादिङ, माघ ५- भारत बैसाली जिल्ला, मोवा काजलपुरका चन्द्रदेव सिंह काठमाण्डौमा व्यापार गरि बसेका छोरा भेट्न बुहारी र २ नाति-नातिनी सहित विहिबार साँझ विरगंजबाट बस चढेर काठमाण्डौ आउँदै थिए। बालबच्चा र बुहारीलाई छोराको जिम्मा लगाउन आएका उनले बुहारी प्रमिलादेवीलाई बाटैमा गुमाउन पुगे। सिंह परिवार चढेको ना ४ ख ६११७ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा-२ बाङ्गेमोड नजिकैबाट त्रिशुली नदीमा शुक्रबार विहान सवा चार बजे पल्टिँदा प्रमिला लगायत ४ जनाको ज्यानको गएको छ। बस वीरगञ्जबाट काठमाडौं आउँदै थियो। यात्रुले खचाखच बस बाङ्गेमोड क्रस गर्ने वित्तिकै सडकबाट चिप्लिएर त्रिशुली नदी किनारमा बजारिन पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। घाटबेसीमा चिया खाएर गुडेको बसका यात्रु निदाएका थिएनन्। चिया खाएको ३ मिनेटमै बस पल्टिएको घाइते सत्रुघन सिंहले भने, 'हामी सबै खडै थियौं।' घटनास्थलमा ३ जनाको मृत्यु भएको थियो। एक जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले जानकारी दिए। घटनास्थलबाट ३४ जना घाइतेको उद्दार गरिएको प्रत्यक्षदर्शी केशव रिमालले जानकारी दिए। चिया पिएर चालक बदलेर गुडेको बस पुकार नाम गरेको गुट्खाका कारण पल्टिएको यात्रुहरुको भनाइ छ। चिया पिएर गाडी चलाउन सुरु गरेको चालकलाई पुकार खान मन लाग्यो, सहचालकले पुकार च्यातेर दिंदै थिए, एउटा हातले स्टेरिङ समाएका चालक पुकार थाप्न खोज्दा अनियन्त्रित भई मोड क्रस गर्ने वित्तिकै पल्टिएको बुहारी गुमाएका चन्द्रदेव सिंहले बताए। अधिकांश भारतीय नागरिक बोकेको बसको छतमा आलुको लोड समेत थियो। ४० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ। खाना खाने क्रममा कन्डक्टर र सहचालकले रक्सी समते पिएको देखेको सिंहले बताए। दुर्घटनास्थलमा बाक्लो हुस्सु पनि दुर्घटनाको कारण बनेको प्रहरी निरक्ष घिमिरे बताउँछन्। सिंहको साथमा ४ वर्षकी नातिनी राधिका र २ वर्षको नाती अनन्दकुमार मात्र छन्। दुर्घटनामा परी बुहारि गुमाएका चन्द्रदेव भाव विह्वल अवस्थामा गजुरी अस्पतालमा उपचारका क्रममा भन्दै थिए- 'मैले छोरालाई कसरी बुझाउँ।' आफू बाँचे पनि बुहारी बचाउन नसकेकामा उनी दुःखी छन्। दुर्घटनामा परि आफै घाइते भएका उनी गजुरी अस्पतालमा उपचाररत छन्। बस सडकबाट करिव २५ मिटर तल नदी किनारमा पल्टिएर सो दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा राजु नाम गरेका बस चालक, भारत बैसाली, मौवा काजलपुरका ३० वर्षिय महिला प्रमिलादेवी सिंह, भारत चनरमानग्रामका खुसिया ठाकुर र भारतीय नागरिक जाहेर हुसेन अन्सारीको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले जानकारी दिए। मृतक तीनको शव गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घाइतेहरुको उद्धार गरी गजुरी अस्पताल तथा काठमाण्डौका विभिन्न अस्पतालमा पठाईएको छ। दुर्घटनामा ७ भन्दा बढि घाइतेको अवस्था गम्भिर रहेको छ। सो बस दुर्घटना हुनुको मुख्य कारण चालकले गुट्खा खान लाग्दा अनियन्त्रित भई पल्टिएको घाइते यात्रुहरुको दावी छ। दुर्घटना स्थल ट्राफिक प्रहरीको सूचिमा जोखिमयुक्त स्थलको रुपमा किटान गरिएको छ। यस अघि सो स्थानमा आधा दर्जनबढी दुर्घटना भएका थिए। बस नदी किनारको बगरमा खसेको छ। केही भाग पानीमा डुबेपनि उद्धार कार्य प्रभावित नभएको दुर्घटना उद्धारमा खटिएका प्रहरीहरुले बताए। उद्धार टोलीमा इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीबल आदमघाट, र नेपाली सेनाको सबुज गण गजुरीको टोली र स्थानीय राजमार्ग दुर्घटना उद्धार स्वयम्सेवक खटिएका थिए। (नागरिक न्युज अन लाइन बाट)
0 comments for "त्रिसुलीमा बस खस्दा मर्नेको संख्या ४ पुग्यो "
Leave a reply