पृथ्वीराजमार्गको मौवाखोलामा बल्दैन बिजुली

Posted by Omn-Nepal on Friday, November 30, 2012 | 0 comments



मौवाखोला/करीब ४०  घरधुरी भएको बजार, आँगनैमा डबल लेनको राष्ट्रिय राजमार्ग, सेकेण्ड सेकेण्डमा गाडी गुडिरहन्छ, देश विदेशका यात्रु ओर्लेर किनमेल गर्छन् । २०२६ सालमा पृथ्वीराजमार्ग सञ्चालन हुनथालेदेखि बजार बसेको नाम चलेको ठाउँ धादिङको जोगीमारा गाविसको मौवाखोलावजारमा अहिलेसम्म पनि बिजुली बत्ति पुगेको छैन ।
राजमार्गमै रहेको जोगीमारा– २ मौवाखोला र जवाङ्ग खोलाका बासिन्दाहरु अहिलेसम्म पनि विजुलीवत्ती उपभोग गर्नबाट बञ्चित भएका हुन् । ‘म यहाँ बस्न आएको ३०÷३५ बर्ष भइसकेको छ, वरिपरिका सबै बजारमा बिजुली बत्ती बलिसक्यो तर हामीले अहिलेसम्म पनि विजुलीबत्ती बाल्न पाएका छैनौं’ स्थानीय पर्वे घले भन्छन् ‘हाम्रो माग कसैले पनि सुनेनन् ।’ मौवाखोला चितवन र धादिङ्गको सीमानामा रहेको बजार हो । नजिकै चितवनको फिस्लिङ्ग र धादिङ्गको हुग्दीखोलाको बस्तीमा धेरैबर्ष पहिले नै बिजुली बलिसकेको छ तर आफूहरुले भने बिजुली बत्ती बाल्न नपाएको स्थानीयवासीको गुनासो छ ।
मौवाखोलामा बस्नका लागि जोगिमारा गाविसका बिभिन्न वडाबाट मानिसहरु बसाइँ सरी आउने गरेका छन् । बिजुली बत्ती नपाउँदा यहाँ बिगत ४० बर्षदेखि टुकीको भरमा काम चलाउने गरिएको स्थानीय रामचन्द्र चेपाङले बताउनुभयो ।  ‘सक्नेहरुले सोलार बत्ती बाल्छन्, हामी त टुकी नै बाल्छौं’ उहाँ भन्नुहुन्छ ् ‘बाहिरबाट हेर्दा हाइवे छ, यहाँचाहिँ न मोबाइल टिप्छ, न बिजुली बत्ति बाल्न पाइन्छ ।’ पहल गर्ने मान्छे नभएको र आफूहरुले माग गर्दा सुनुवाइ नै नभएको उहांको भनाइ छ ।
आफूहरुले पटक पटक गाविसमा गएर विजुलीका लागि माग गरेको तर सुनुवाइ नभएको स्थानीय भेषबहादुर गुरुङ्ग बताउनुहुन्छ । ‘बिजुली लाइन जोडिदिन ‘गाविससंग पहिलेदेखि नै माग त गरिरहेका छौं, सुनुवाइ नै भएन’ गुरुङ्गले भन्नुभयो –‘दिन्छौं, दिन्छौं भनेका छन् हेरौं, अब जोडिदिन्छन् कि ।’ दुईकिलोमिटर पर रहेको चितवनको फिस्लिङ्गबाट लाइन तान्न कम खर्च हुने भएकाले मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थासंग समन्वय गरेर बिजुली लाइन तान्ने प्रयास पनि गरिरहेको उनले बताए । मौवाखोलाको वजारमा यहाँ धेरैजसो होटल र केही किराना पसलहरु छन् ।

0 comments for "पृथ्वीराजमार्गको मौवाखोलामा बल्दैन बिजुली "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु