धादिङमा दुध उत्पादन बढ्यो

Posted by Omn-Nepal on Saturday, November 24, 2012 | 0 comments




 धादिङ,/ केही समययता धादिङमा दुध उत्पादन बढ्न थालेको छ । सदरमुकाम धादिङवेशी र वरपरका गाउँमा व्यवसायिक रुपमा गाईपालन गर्ने किसानको संख्या बढेपछि दुध उत्पादन बढेको हो ।

उन्नत जातको गाईपाल्दा थोरै मेहनतबाट पनि प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसानहरु गाइपाल्न आकर्षित भएका जिल्ला पशु सेवा कार्यालय धादिङका पशु चिकित्सक शिला पन्तले बताउनुभयो । एक बर्ष अघिसम्म दिनमा दुई÷तीन लिटर दुध बेच्ने किसानहरु अहिले एक सय लिटरसम्म बिक्रि गर्ने भएका उहाँको भनाई छ । 
फोकस नेपाल र धादिङ उद्योग वाणिज्य संघले जिल्लाको ९ वटा गाविसमा साना किसानहरुका लागि बजारमा पहुंच परियोजना शुरु गरेपछि किसानहरु गाइपाल्नतिर आकर्षित भएका हुन् । जिल्लाको निलकण्ठ, सुनौलावजार, मुरलीभञ्ज्याङ, साङकोष, चैनपुर र नलाङ, ढोला, मैदी, सलाङ गाविसमा किसानको आम्दानी बढाउनका लागि परियोजना सञ्चालन गरिएको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिनुभयो । यी गाविसबाट दिनमा एक हजार चार सय ६० लिटर दुध वजारमा विक्री हुने गरेको पनि छत्कुलीले बताउनुभयो ।
अहिले किसानहरुसंग ३ सय ५३ वटा उन्नत जातको गाई, ३१ वटा दुग्ध संकलन  केन्द्र र  ३ ठाउँमा चिस्यान केन्द्र रहेको छ । गाउँबाटै दुध बेच्न पाइने भएपछि विदेश जान छाडेर गाइपाल्न थालेको साङकोष गाविसका वालकृष्ण लम्सालले बताउनुभयो । गाईपाल्ने किसानहरुले गाउँमा हरियाली अभियान चलाएर गाईका लागि बाह्रै महिना हरियो घाँसको पनि ब्यवस्था गरेका छन् ।

0 comments for "धादिङमा दुध उत्पादन बढ्यो"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु