अब अमेरिकी साईबर सुरक्षा सेना पाँचगुणा बृद्धि

Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments


अमेरिकी प्रतिरक्षा मन्त्रालयले महत्वपूर्ण कम्प्युटर नेटवर्कको सुरक्षाका लागि साइबर सुरक्षा सेनामा आउँदा वर्षमा पाँचगुणा वृद्धि गर्नेभएको समाचार वासिङटन पोस्टले आइतबार दिएको छ । उक्त पत्रिकाले अमेरिकी अधिकारीहरूलाई उद्धरण गर्दै हाल प्रतिरक्षा मन्त्रालयको साइबर कमान्डमा ९०० कर्मचारी रहे पनि आउँदा दिनमा चार हजार ९०० सैनिक तथा कर्मचारी रहने समाचारमा उल्लेख गरेको छ ।

हाल कम्प्युटर नेटवर्कमा चुनौती बढ्न थालेपछि पेन्टागनका अधिकारीहरूले साइबर कमान्डलाई विस्तार गर्ने निर्णय गरेको समाचारमा उल्लेख गरिएको छ । गत नोभेम्बर महिनामा प्रतिरक्षामन्त्री लेओन पेनेटाले अमेरिकी साइबर सुरक्षाका लागि थप वित्तीय तथा मानवीय स्रोत आवश्यक भएको बताउनुभएको थियो । सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीले वासिङटनमा आयोजना गरेको एक कार्यक्रममा उहाँले साइबर सुरक्षामा कर्मचारीहरू कार्यरत रहेको तर यस क्षेत्रमा हाल भइरहेका परिवर्तनका कारण यसको सुरक्षामा थप लगानी आवश्यक भएको बताउनुभयो ।
गत वर्ष साउदी अरेबियाको सरकारी तेल कम्पनीमा एक भाइरसले ३० हजार कम्प्युटरमा रहेका तथ्याङ्क मेटाइदिएको थियो । यस्ता चुनौती अझै बढ्न थालेको वासिङटन पोस्टले उल्लेख गरेको छ ।

पत्रिकाले साइबर कमान्डमा तीन प्रकारका समूह रहने उल्लेख गरेको छ । यसमा नेसनल मिसन फोर्सेसले विद्युतीय, ऊर्जा तथा अन्य महत्वपूर्ण संरचनाका कम्प्युटर प्रणाली हेर्ने, कम्ब्याट मिसन फोर्सेसले विदेशमा भएका कमान्डलाई सहयोग गर्ने र उनीहरूले आक्रमण अन्य सैनिक क्रियाकलाप हेने तथा साइबर प्रोटेक्सन फोर्सेसले प्रतिरक्षा मन्त्रालयको कम्प्युटर सञ्जाललाई हेर्ने उक्त पत्रिकाले उल्लेख गरेको छ ।

0 comments for "अब अमेरिकी साईबर सुरक्षा सेना पाँचगुणा बृद्धि "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु