के बेरोजगारी आफैँ पेशा त ............बन्दैन ?

Posted by Omn-Nepal on Tuesday, January 7, 2014 | 0 comments


प्रकाश सापकोटा बेरोजगारी समस्याले आक्रान्त बन्न पुगेको मुलुक नेपाल अहिले यही बढ्दो समस्याका कारण छट्पटिरहेको छ । बेरोजगारी समस्या एकै पटक ह्वात्तै आउने होइन एवम् चाहँदैमा एकैचोटि स्वात्तै हटाउन पनि सकेको होइन । त्यसैले यो समस्या समाधानको सही उपाय भन्नु नै समयमै र पहिलेदेखि यो समस्या नआउन आवश्यक कार्यनीति अपनाउँदै जानुपर्छ । यो समस्याले काहाँ एवम् कतिबेला वकराल रुप दिनसक्छ र के नगर्दा यसको खतरा बढ्न सक्छ भन्ने कुरालाई समयमै विश्लेषण गरेर मुलुकले त्यस अनुरुपको कार्यनीति धेरै पहिले नै अवलम्बन गर्नुपर्दथ्यो । तर त्यसो नभई मुलुकको एकातिर विद्यमान बेरोजगारी समस्याले जटिल परिस्थितिको आकार लिन थाल्यो । अर्कोतिर सम्भावित बेरोजगारी समस्यालाई समयमै ठकिसँग विश्लेषण गर्न सकिएन । एक किसिमले यस कुराप्रति आँखा नै चिम्लियो, जसले गर्दा यसबिच समायोचित कार्यनीतिको अभावमा यो समस्याले झन नराम्ररी जरा गाड्न पुग्यो । ‘जब प¥यो राति तब बूढी ताती’ भनेझैँ यस्तै हाम्रो नेपाली बानी व्यवहारले गर्दा मुलुक हाँक्ने कुरामा पनि त्यसको प्रभाव परिछाड्यो अन्ततः सम्भावित यस समस्याप्रति आठ – दश वर्षदेखि नै सरकारी नीतिमा यदाकदा बेरोजगारी शब्दको छनौट गरिएपनि सही रुपले यस सम्बन्धि कार्यनीति अपनाइएन र त्यस अनुरुपको प्रभावकारी कार्यक्रम पनि ल्याइएन । यसले गर्दा अहिले यस समस्याले मुलुकलाई नराम्ररी थाल्यो । त्यसैले अहिले बेरोजगारी समस्या बढेको, मानव संसाधान विदेश पलायन हुन थालेको अनि यसै बेरोजगारी समस्याको कारण मुलुक निर्माणमा पाखुरा बजार्नुपर्ने युवा शक्ति नेताहरुको आकर्षण भाषण र प्रलोभनमा परी जङ्गलमा पसेको जस्ता कुरा हाम्रा छापा र मुखमा झुण्डिएका छन् । समय हुँदै नचेत्ने तर समय गुज्रीसकेपछि तात्ने हाम्रो परम्परागत प्रवृत्तिले गर्दा यो बेरोजगारी समस्या अहिले मुलुकको निम्ति सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । त्यसैले अहिले जताततै यो समस्याको चर्चासँगै सरकारले पनि रोजगारी सम्बन्धी विशेष कार्यक्रम बनाई छिटो भन्दा छिटो लागु गर्नुपर्ने टट्कारो आवश्यकता देखिन्छ । समय छँदा त्यसको हेक्का नगरिने तर समस्याको पोको च्यातिएपछि मात्र तान्ने हाम्रो प्रवृत्तिले अब एकैचोटि कसरी यस समस्या किनारा लाग्ला ? त्यो सहजै अनुमान गर्न सकिन्छ । युवा शक्ति मुलुक निर्माणका बलिया खम्बा एवम् स्तम्भ हुन् । यदि यो जनशक्तिलाई समयमै सही दिशा निर्दिष्ट गर्न सकिएन भने मुलुकका निम्ति यो भन्दा बढी घातक अरु केही हुँदैन । जब यो शक्तिले काम पाउँदैन वा कतै ‘इन्गेज’ हुँदैन त्यहाँ विस्फोटको खतरा हुन्छ । विदेश पलायन हुने एउटा यो खतरा कारण हो भने कुनै काम नपाएर बरालिन पुग्नु अर्को खतराको कारण हो । यतिसम्म कि यसकै कारण देशमा नसोचेको विद्रोह हुनसक्छ र त्यस विद्रोहको उपयोग गलत रुपले एवम् गलत तत्वले गर्नसक्छ । तर यतातिर हाम्रो १०÷१२ वर्षदेखिकै सही दृष्टिकोण, चिन्तन र प्रभावकारी कार्यक्रम भएनन् ? यस अवधिमा हामीले यस कुरा तर्फ आदर्श छाट्यौँ, रोजगार प्रवर्धन गर्ने सम्बन्धमा नाम मात्रको नीति बन्यो तर प्रभावकारी कार्यनीति भने व्यावहारमा अपनाइएन । यसले गर्दा मुलुकमा बर्सेनी बेरोजगारीको सङ्ख्याले चाङ्ग लाग्यो । आज भन्दा १२÷१४वर्ष पहिले पनि वेरोजगारी समस्या नभएको होइन तर राष्ट्रले त्यस कुराको महसुस गरेन । अर्थात् त्यतिबेलाका नीति निर्माताहरुले त्यसमा त्यति चासो देखाएनन् । कुरो फरक यति हो कि त्यसको पीडा बेरोजगार युवाहरुलाई मात्र थाहा थियो । तर पनि त्यतिबेला रोजगारी बृद्धि गर्ने जस्ता कुरा यदाकदा नगरिएका होइनन् तर ती सबै कागजमा मात्र सिमित भए । जसले गर्दा युवाहरुमा विद्रोहको भावना स्वतः जागेको थियो । र त्यस आन्दोलन सीधै बेरोजगारी समस्याको विषय पनि जोडिएको थियो । जसलाई प्रजातन्त्र प्राप्तिपछि केही उपेक्षा गरियो । जब कि त्यसबेला समस्याको हिसाबले पनि यो समस्याको संख्या अहिले भन्दा कम थियो । जे होस् त्यहि असन्तोष प्रजातन्त्र प्राप्तिकै निम्ति खनियो जसले गर्दा ०४६सालको जनआन्दोलन पनि चाँडै सफल भयो । तर यो कुराको विश्लेषण कही कतै गरिएन, सुनिएन । त्यसैगरी ०६२÷०६३को जनआन्दोलन पनि त्यही बेरोजगारी युवा शक्तिको आडमा छिट्टै साही सरकारलाई घोडा टेकाए । जुन लोकतन्त्रको स्थापनापछि जुन अपेक्षा अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि गरिएको थियो । त्यसले सही किनारा पाउन सकेन । हाम्रा नेताहरु पूर्व शासकहरु जस्तै रोजगारीका कुरा गर्दा आदर्शका भाषण छाड्न थाले, उद्योगी बन्नुपर्ने अर्ति दिन थाले । बिहान – बेलुका हातमुख जोर्न द्यौ–द्यौ भएका गरीब युवाहरुलाई नोकरी नगरेर उद्योगपति बन्नुपर्ने सल्लाह दिए । अनि रोजगारी सिर्जना गर्ने र त्यो अवसर प्रदान गर्ने भन्दा प्रशासन सुधारको नाममा भएका दरबन्दी पनि कटौति गरियो । भएका रोजगारी पनि बेरोजगारी भए समय चक्रसँगै न त औधोगिक बिस्तार नै हुनसक्यो झन् एकपछि अर्को समस्याका कारण होटल व्यवसाय वा पर्यटन क्षेत्रमा आघात पुग्न जाँदा अहिले झन् यो समस्याले डाँडै काट्न थाल्यो । जुन बेलादेखि यसमा ‘सिरियसनेस’ देखाउन सक्नुपथ्र्यो त्यो नहुँदा यसले विकराल रुप लियो । सत्य तीतो भएपनि यो सबै विगतदेखिको हाम्रै हेलचेक्राँइकै उपज हो भन्न सकिन्छ । अहिले बेरोजगारीको समस्या शहरमा मात्र होइन, गाउँमा पनि त्यत्तिकै देखिएको छ । विशेष गरी १५देखि २५वर्ष उमेर समूहका युवाहरु बढीमात्रामा पूर्णरुपले बेरोजगार रहेको पाइएको छ । पिछडिएका एवम् ज्ञान तथा शिक्षाको अभावले के ठीक के बेठिक भनी छुट्याउन एवम् विश्लेषण गर्ने क्षमता कम भएका झण्डै ९०प्रतिशत ग्रामीण क्षेत्रका युवाहरु नेताहरुको नारा र आश्वासनको प्रलोभनमा परी ज्यानै आहुती दिएर हिडिरहेका छन् । बेरोजगारी समस्याले पारेको यो आततायी घाउलाई मलमपट्टी लगाउन अब गम्भीरताका साथ नलाग्ने हो भने राज्यले त्यसको ठूलै जोखिम मोल्नुपर्ने देखिन्छ । त्यसैले यसतर्फ राज्यले बढी ध्यान दिनुपर्ने तड्कारो महसुस गरिएको छ । यसको निम्ति हामी को के कति दोषी छौँ, यसबेला सबैले विश्लेषण र मनन् गर्नु आवश्यक छ । र त्यसैका आधारमा समस्या समाधानतर्फ पनि सबै एकजुट भएर लाग्नु आवश्यक भइसकेको छ ।

0 comments for "के बेरोजगारी आफैँ पेशा त ............बन्दैन ?"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु