अवैधरुपमा बालुवा र ढुङ्गाखानी संचालनमा

Posted by Omn-Nepal on Friday, August 16, 2013 | 0 comments


धादिङ/ धादिङको बैरेनी गाविस वडा नम्बर ८ को वान्द्रे गाउं नजिकै बर्षौदेखि गैर कानूनी रुपमा ढुङ्गा खानी संचालनमा ल्याईएको छ । बैरेनी गाउं विकास समितिले दुई बर्ष अघिनै गाउं परिषदको निर्णयवाट उक्त क्षेत्रमा ढुङ्गाखानी संचालन गर्न रोक लगाएको भएपनि त्यहांवाट गैर कानूनी रुपमा ढुङ्गा निकाल्ने कार्य भने जारी रहेको छ । गाउं विकास समितिको कार्यालयलाई कुनै जानकारी नदिई संचालनमा रहेको ढुङ्गा खानीका कारण बान्द्रे क्षेत्रको वन विनास हुनुका साथै गाविसले बर्षेनी लाखौं रुपैया आम्दानी गुमाउनु परेको बैरेनी गाविसका सचिव टुनावहादुर श्रेष्ठ बताउंछन ।

बान्द्रेमा ढुङ्गाखानी संचालनमा रहेको बिषयमा पटक पटक कुरा उठेपछि अवैधढंगबाट चलिरहको उक्त खानी रोक्न स्थानीय प्रशासन र जिल्ला विकास समितिलाई आग्रह गरिएपनि खानी चलिरहेको श्रेष्ठको भनाई छ । खानी संचालन भएको बिषयमा गाविस कार्यालयलाई कुनै निकाय र व्यक्तिले यस सम्वन्धि जानकारी समेत नदिएकोले उक्त कार्यमा संलग्न व्यक्तिहरु को हुन भन्ने थाहा हुन नसकेको गाविस सचिव श्रेष्ठ वताउंछन । बैरेनी गाविसको वडा नम्बर ८ को ढुङ्गगा खानी मात्र होइन,बैरेनी गाविसको वडा नम्बर ९ महेशफांट,जिन्सेटार,वडा नम्बर ७ को मास्टार लगायतका क्षेत्रमा पनि निजी जग्गाको भन्दै अवैध रुपमा वालुवा उत्खनन गर्ने कार्यभईरहेको भएपनि गाविस कार्यालय मुकदर्शक हुन वाध्य हुनुपरेको स्थानीय दलका प्रतिनिधिहरु बताउंछन । जिल्ला विकास समिति धादिङले जिल्लावाट निकासी हुने प्राकृतिक श्रोत साधनको निकासी कर संकलन गर्दै आईरहेकोले एउटैबस्तुमा दोहोरो कर लिन नपाउने भन्दै जिल्ला विकास समितिले गाविसलाई कर लिन रोक लगाएपछि गैर कानूनी उत्खनन बढ्न पुगेको हो । जिविसले गाविस कार्यालयलाई स्थानीय प्राकृतिक श्रोत साधनमा कर नलिन निर्देशन दिएकाले गाविसको आम्दानी घट्नुका साथै गैर कानूनी उत्खनन बढ्न पुगेको गाविस सचिव श्रेष्ठले वताए । गाविसलाई अधिकारविहीन वनाएका कारण अबैध ढ्रगवाट ढुङ्गा तथा वालुवा उत्खनन गर्नेहरुको मनोवल बढेको गाविस सचिवको भनाई छ । गाविस कार्यालयमा आम्दानी हुने गरी स्थानीय रुपमा ढुङ्गा तथा बालुवा खानी संचालन हुंदा गाविसले बार्षिक ४ करोड रुपैया सम्मको आम्दानी गर्ने गरेको भएपनि अहिले त्यो आम्दानी ४ लाखमा सिमित हुन पुगेको छ । जिल्ला विकास समितिको अवरोधका कारण गाविसको प्राकृतिक श्रोतमाथि सिमित व्यक्तिको कव्जा वढेको जनगुनासो रहेको छ ।

0 comments for "अवैधरुपमा बालुवा र ढुङ्गाखानी संचालनमा"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु