हेलिकप्टर देखेर रमाए गाउँले
Posted by Omn-Nepal on Monday, December 31, 2012 | 0 comments
केशव अधिकारी धादिङ, पुस १६ - घर माथिवाट ठुलो आवाजमा उड्ने गरेको हेलिकप्टर आफ्नै गाउँको चौरमा रोकिएको देख्न पाउँदा दक्षिणी धादिङको पिडा गाविसका ६९ बर्षिय भोजवहादुर अर्यालको मुहारमा निकै खुसी देखिन्थ्यो । पिडा गाविस वडा नम्बर ४ विसौनीका अर्यालले आईतवार हेलिकप्टरलाई चारैतिर वाटै नियाल्दै धित मरुञ्जेल हेरेपछि भन्नुभयो ‘उड्ने बस ।’ अर्यालले मात्रै होइन पिडा गाविसको च्याङगली गाउँमा जम्मा भएका एक सय भन्दा बढिले आईतवार आकाशमा उड्ने गरेको हेलिकप्टर आफ्नै अगाडी पाउँदा निकै खुसी मान्दै हेरेका थिए । नेपाली सेनाको गजुरी स्थित सवुज गणले आईतवार पिडा गाविसको च्याङगलीमा आईतवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिकलाई कम्वल वितरण कार्यक्रममा सहभागी बन्नका लागि आएका मध्यपृतना हेटौंडाका पृतनापती राजेश क्षेत्रीले चढेर आएको नेपाली सेनाको हेलिकप्टर हेरेर पिडा गाविसका धेरैले हवाइजहाज हेर्ने रहर पुरा गरेका हुन । आकाशमा उडेको देख्दा कस्तो होला जस्तो लागेको थियो नजिकैवाट हेर्दा पखेटा भएको बस जस्तो लाग्यो स्थानीय एक बृद्धाको प्रतिकृया थियो । पिडा स्वास्थ्य चौकी नजिकैको डांडोमा रोकिएको हेलिकप्टर हेर्नका लागि स्वास्थ्य शिविरमा आएका विरामीहरु उपचारनै छाडेर दौडिएका थिए । पृथ्वीराजमार्गको आदमघाटवाट एक घण्टाको मोटरयात्रा पछि पुग्न सकिने पिडा गाविसको च्याङली क्षेत्रमा पहिलो पटक हेलिकप्टर रोकिएको थियो । चढ्न नपाएपनि हातले छुन पाएकोमा आफूलाई निकै खुसी लागेको ६५ बर्षिया धनमाया तामाङले वताउनुभयो । चार सिट क्षमताको एलुवेट हेलिकप्टर काठमाडौंवाट उडेको २५ मिनेटमा पिडा गाविसको च्याङगली आईपुगेको चालक दलका सदस्य मेजर शंकर कटवालले जानकारी दिनुभयो । १५ मिनेटका लागि रोकिएको हेलिकप्टर हेर्न लागेको भिड पन्छाउन नेपाली सेना र प्रहरीलाई हम्मे हम्मे परेको थियो । हेलिकप्टर हेर्न पुगेका गाउंवासीले चालक दलका सदस्य मेजर कटवाललाई हेलिकप्टर र प्लेनमा के फरक छ ? कसरी उड्छ, तेल कहां राख्ने,सिटमा बसेपछि वाहिर हेर्दा कस्तो हुन्छ जस्ता विभिन्न प्रश्न राखेका थिए ।
0 comments for "हेलिकप्टर देखेर रमाए गाउँले"
Leave a reply