सहमतिको स्वाङ्

Posted by Omn-Nepal on Tuesday, November 13, 2012 | 0 comments


सत्तासीनहरूले सत्ता टिकाउन र सत्ता अनासीनहरूले आफ्नो बोली बिकाउन, सरकार मिल्काउन अनि सत्ता हत्याउन सहमति सूत्रको प्रयोग लोकतन्त्रको प्राप्तिपछि घनीभूत रूपमा हुँदै आइरहेको छ । अहिलेको सहमतिको सुसेली पनि सत्ताको संगीतकै सेरोफेरोमा हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । अझ वस्तुगत रूपमा भन्ने हो भने प्रधानमन्त्री पदको प्राप्तिमै हो भन्दा अत्युक्ति नहोला ।
त्यसैले सहमतिको चिन्ता सबैलाई छ- राष्ट्रपतिदेखि राष्ट्रसेवकसम्म । राष्ट्रपति हरेक दिनजसो ( अब हरेक घण्टामा परिणत भइसकेको छ !) प्रधानमन्त्रीदेखि प्राय: सबै दलका बरिष्ठदेखि कनिष्ठ, इष्टदेखि दुष्ट, असन्तुष्टदेखि सन्तुष्ट सबै नेताहरूलाई आफ्नो निवासमा बोलाएर सहमतिको शीतल सर्बत सेवन गराउनु हुन्छ जाडो होस् वा गर्मी । र आफू पनि सेवन गर्नु हुन्छ । त्यसैले त बाहिरबाहिर सहमति भन्नहुन्छ अनि सेनापतिलाई बोलाएर सेना समायोजनमा सेनाले आफ्नो अडान हेक्का राख्नु भनेर हुकुम दिनुहुन्छ, यो हुन्छ, त्यो हुँदैन भनेर कुनै अमुक नेताको बोलीमा लोली मिलाउँदै अडान प्रस्तुत गर्नु हुन्छ । सर्वविदितै छ अडानको अगाडी सहमति सुइँकुच्चा ठोक्छ ।
प्रधानमन्त्री हरेक बैठकमा अनि आमसभामा सहमतिकै सातु फाँको मार्नु हुन्छ तर विपक्षी मात्रै नभई आफनै दलका नेतासमेत सहमत नभएको सन्धि सम्झौतामा सिग्नेचर गर्नुहुन्छ । मन्त्रीज्यू मन्त्रालय पुग्नासाथ घुँडा धसेर पहिला ‘सहमति चालीसा ‘ पाठ गर्नुहुन्छ अनि आफूसंग असहमत हुनेहरूको सूची शीघ्र तयार पार्नुहुन्छ र सरुवाको शृंखला शुरू गरीहाल्नुहुन्छ । हरेक दलका शीर्ष नेताहरू आफ्ना कार्यकर्तालाई सहमतिकै शिक्षा दिन्छन् अनि भन्छन् तपाईंहरू ढुक्क हुनुस् हामी हाम्रो अडानबाट सियो जति पनि सर्ने छैनौं । अर्थात् हामीले भनेको कुरो हुन्छ भने सहमति हुन्छ नत्र हुँदैन भन्दै प्रशिक्षण दिईराखेका हुन्छन् ।
सहमतिको चर्चा जताततै छ चिया पसलदेखि बिहाभोजसम्म ।यसको चर्चा जहाँ पनि छ-भद्रपुरदेखि भीमदत्तनगरसम्म अनि ओलाङ्चुङ्गोलादेखि कालीखोलासम्म । सहमतिको चिन्ता जस्तो अवस्थामा पनि छ- बिहान शौचालय जाँदादेखि बेलुकी मन्त्रालयबाट फर्कंदासम्म । यतिमात्र कहाँ हो र ! हाम्रा नेताहरू खाँदा, पिउँदा, हाँस्दा, रुँदा, खोक्दा, हाच्छिउँ गर्दा, सिनेमा हेर्दा, शपिंग गर्दा, उद्घाटन गर्दा, विमोचन गर्दा, शिलान्यास गर्दा, पजेरोमा गुड्दा, हेलिकोप्टरमा उड्दा, कालापत्थर जाँदा, कोपनहेगन जाँदा, ओस्लो जाँदा, ओखरपौवा जाँदा, न्यूयोर्क जाँदा, न्यूदिल्ली जाँदा हरेक क्षण हरेक पल सहमति कसरी होला भनेर सोचिराखेका हुन्छन । सहमतिकै सूर्ताले शायद तीनको उचाई पनि घटिसक्यो । रातभरी भोक लाग्दैन । दिनभरी निन्द्रा लाग्दैन । केही गरी निन्द्रा परिहाल्यो भनेपनि उनीहरू सपना सहमतिकै देख्छन् र पनि सहमति हुन् सकेको छैन । किन ?
किनभने सहमतिको स्वाङ बढी हुन्छ काम कम हुन्छ । मति सफा भए पो हुन्छ त सहमति ! सहमति हुन त सबैलाई देशको मायाले पोल्नुपर्छ भत्भति, चाहनुपर्छ जनताको उन्नति र प्रगति, हुनुपर्छ कानूनी राज्यप्रतिको लगाव अति । यस्ता कुराहरू भेटिदैं भेटिंदैनन् हत्पति अनि के को हुन्थ्यो सहमति ?
म, मेरो परिवार, मेरा कार्यकर्ता, अनि धेरै नै माथि उठे मेरो दल (यो पनि असम्भव भै सक्यो) यीबाहेक अरू सबै मिथ्या भन्ने धारणा भएपछि कसरी होस् त सहमति । लोकप्रियताको जस्तोसुकै हद वा राज्यको जतिसुकै ठुलो पद वा जतिसुकै राम्रो मक्सद भए पनि दलीय चिन्तन अझ भनौ गूटीय चिन्तनबाट माथि उठ्न नसके पछि कसरी हुन्छ सहमति?
यहाँ त एउटै दलभित्र सहमति हुन त तराइमा हिउँ पर्नु जस्तै भैसक्यो भने राष्ट्रिय सहमति कसरी होस् । एकछिनलाई मानौं नेपाली काँग्रेसलाई प्रधानमन्त्री दिने जम्मै दलको सहमति भयो रे । तर यो बिषयमा काँग्रेस भित्रै सहमति हुन सम्भव छैन । केही गरी सहमति भईहाल्यो भनेपनि छत्तीसे र चौहत्तरेको पुरानो खेलको पुनरावृत्ति वा सन्त नेताको जस्तो अपमानपूर्ण सत्ताच्यूतको घटना दोहोरिने पक्का छ । यो रोग एमाले वा प्लस माओवादी वा माइनस माओवादी सबैमा उत्तिकै लागू हुन्छ । माधव विरुद्ध झलले छल गरेकै हुन् भने झल विरुद्ध माधव-ओलीले गोली ठोकेकै हुन् । अनि वैद्य बाबुराम-झुण्डले धोविघाट काण्डमा झन्डै सिध्याएका थिए प्रचण्डलाई । कहिले वैद्यको वाहूमा बाँधिनु अनि कहिले बाबुरामको बातमा साथ दिनु अध्यक्षको बानी नै थियो । यसैको उत्कर्षमा दल नै दुइटा भो । एउटै पार्टीमा समेत सहमति नभएपछि अनि कसरी हुन्छ राष्ट्रिय सहमति?
राष्ट्रिय सहमतिको खडेरी नै चाहिँ परेको भन्न मिल्दैन यहाँ । ऐतिहासिक बाह्रबुँदे सहमति हाम्रा नेता हामी आफैंले गर्यौं भन्छन तर हामीले गराई दिएको भनेर कुनै टीभी च्यानलमा कुनै विदेशी नेता बोल्छन् । न कुनै खण्डन न कुनै असहमति । अर्थात् ती विदेशी नेताको कुरामा सबैले सहमति जनाए । सहमति नजनाएका भए त खण्डन गरिहाल्थे नि ! राष्ट्रिय सहमतिको क्या राम्रो उदाहरण आहा ! यस्तोलाई अघोषित सहमति वा मौन सहमति यस्तै केही भन्छन् क्यारे! त्यतिमात्र होइन पजेरो, प्राडो, राडो लगायतका सेवा, सुबिधा जस्ता कुरामा पनि सजिलै सहमति हुन्छ अनि यस्तो अध्यादेशमा लालमोहोर पनि सजिलै लाग्छ । अरू बिषयमा जस्तो नाकनिक हुँदैन परामर्श पनि चाहिन्न । हुनत अध्यादेश भन्दा सुबिधादेशको रूपमा आएपछि लालमोहोरवालाले के पो गर्नु र । उही तेश्रो नेत्र सक्रिय भइहाल्छ अनि सहमति पनि तुरुन्तै ! तथापी यस्तो सुविधाको विरोधमा एक दुई वटा नौटंकी नदेखिएको पनि होइन । त्यसैगरी बर्खास्त सेनापतिलाई ‘लोकतन्त्र’ जोगाउन अठार दलको बिन्तीपत्रको आधारमा राष्ट्रपति आफैंले पुनर्बहाली गर्नु भएको हो भनेर त्यतिखेर खूबै खोकियो । तर अहिले आएर त्यो काण्ड हाम्रो प्रत्यक्ष भूमिका र निर्देशनमा भएको हो भनेर कुनै विदेशी कूटनीतिज्ञ सगर्व घोषणा गर्छन् । यसमा पनि न कुनै खण्डन न कुनै असहमति । कुनै दलले पनि ती कुटनितिज्ञको यो कुरा झूठ भनेको मिडियामा आको छैन । अरू त अरू राष्ट्रपतिले समेत यसको खण्डन जरूरी ठान्नु भएको छैन । अनि त्यो काण्डबाट सर्वाधिक पीडित तत्कालीन प्रधानमन्त्री त्यतिखेर चाहिं यसमा विदेशी प्रभूकै हात छ भनेर खुबै कुर्लिए ।तर अहिले विदेशीले यो काण्ड मैले गराएको हुँ भन्दा प्रतिक्रियाविहिन छन् । अर्थात् ती विदेशीको कुरामा सबै सहमत भए । वाह ! राष्ट्रिय सहमतिको क्या राम्रो अर्को उदाहरण !
त्यसैले भूपी शेरचनले ‘हामी’ कवितामा ”हामी आफू खुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनु पर्ने” भने झैं सात सालको दिल्ली सम्झौता वा बैसठ्ठी सालको बाह्र बुँदेमा सहमति जुटाए जस्तै कसैले जुटाइदियो भने अर्कै कुरा नत्र आफ्नै बलबूताबाट सहमति सम्भव छैन ।

0 comments for "सहमतिको स्वाङ्"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु