बर्तमान सरकारले सत्ता नछाड्ने –शिक्षा मन्त्री
Posted by Omn-Nepal on Tuesday, November 20, 2012 | 0 comments
धादिङ, /वर्तमान सरकारले कुनै पनि हालतमा सत्ता नछाड्ने भएको छ । एकिकृत नेकपा माओवादीका नेता एवम शिक्षामन्त्री दिनानाथ शर्माले देशमा संविधानको सुनिश्चितता नभएसम्म कुनै कुरा अगाडि बढ्न नसक्ने भन्दै अर्को निर्वाचन नभए सम्म बर्तमान सरकारले सत्ता नछाड्ने ठोकुवा गरेका हुन । देशमा राष्ट्रपति र सरकार मात्र जननिर्वाचित संस्था रहेकोले राष्ट्रपति वा सरकार दुई विघटन हुदैमा राज्य चल्न नसक्ने उनको दावी छ । विद्यमान अवस्थामा सरकार छाडेमा प्रतिगमनकारी तत्वले चलखेल गर्ने मौका पाउनुका साथै लोकतन्त्र नै समाप्त हुने बताउँदै मन्त्री शर्माले देशलाई यस्तो अवस्थामा छाडेर बर्तमान सरकार सत्ता बाहिर नआउने दावी गरेका हुन ।
बिबादका बिच धादिङको गजुरीमा निर्माण हुन लागेको धादिङ पोलिटेक्नीक इन्ष्टिच्यूटको मंगलवार शिलान्यास गर्दै शिक्षा मन्त्री शर्माले यस्तो बताएका हुन । भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशमा साझा सहमति, शान्ति र संविधान, अग्रगामी परिवर्तन अहिलेको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा वोल्दै मन्त्री शर्माले बजेट नहुँदा राष्ट्र नै ठप्प हुने बताउँदै बजेटलाई विभिन्न बाहनामा रोक्ने कार्य गर्न नहुने स्पष्ट पारे । सरकारले घोषणा गरेको साक्षरता अभियानको बारेमा चर्चा गर्दै मन्त्री शर्माले सबै कर्मचारीको घर घरबाट निरक्षताको अन्त्य गरी सिङ्गो राष्ट्रलाई साक्षर बनाउने काममा सरकार लागेको बताए ।
प्राविधिक शिक्षालय स्थापना गर्नुपर्नाको आवश्यकताको चर्चा गर्दै मन्त्री शर्माले शिक्षा क्षेत्रको गुणात्मक परिवर्तन आवश्यक रहेको र त्यो प्राविधिक शिक्षाबाट मात्र सम्भव रहेको पनि बताए । धादिङमा पोलिटेक्नीकल इन्टिच्यूटको शिलन्यास गर्न पाउँदा आफुलाई ज्यादै खुसि लागेको बताउँदै शिक्षामन्त्री शर्माले यसलाई विना अवरोध निर्माण सम्पन्न गर्न सुझाव दिएका छन ।
भवन शिलान्यासकै अवसर पारेर धादिङ पोलिटेक्निक इन्टिच्यूटको निर्माण हुन लागेको भवनको निर्माण कार्य डेढ बर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यस अघि जिल्लाकै मास्टारमा निर्माण गर्ने भनिएको धादिङ पोलिटेक्निक इन्ष्टिच्यूटको भवन वर्तमान सरकार वनेपछि राजनैतिक दवावका कारण गजुरीमा सारिएको हो । जिल्लावासी गंगालाल तुलाधर शिक्षा मन्त्री भएका बेला बैरेनी गाविसको मास्टारमा धादिङ पोलिटेक्निक इन्टिच्यूटको स्थापना गर्ने निर्णय गरि प्रकृया अघि बढाईएकोमा वर्तमान सरकारले पुर्ववर्ति सरकारको निर्णय उल्टाएपछि यस बिषयमा शुरु भएको बिबाद गाउं देखि सिंहदरवार सम्म पुगिसकेको भएपनि राजनैतिक स्वार्थ राखेर निर्णय उल्ट्याईएको आरोप एकिकृत नेकपा माओवादी माथि लागेको छ ।
0 comments for "बर्तमान सरकारले सत्ता नछाड्ने –शिक्षा मन्त्री "
Leave a reply